बर्मिङ्घम तीज मेला २०२६ ऐतिहासिक रूपमा सम्पन्न
वेस्ट ब्रोमिच, बेलायत — १० अगस्ट २०२६। बेलायतमा पहिलोपटक आयोजना गरिएको “बर्मिङ्घम तीज मेला २०२६” सोमबार वेस्ट ब्रोमिचमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कला, संस्कृति, परम्परा र नयाँ पुस्ताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित मेलामा बेलायतका विभिन्न क्षेत्रबाट उल्लेख्य सहभागिता जनाइएको थियो।

शान्ति नेपाली समाज बेलायतको आयोजनामा तथा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाको सहकार्यमा सम्पन्न मेलामा बर्मिङ्घम तथा आसपासका क्षेत्रसहित मिडल्यान्ड, लन्डनलगायत बेलायतका विभिन्न स्थानबाट नेपाली समुदायको उत्साहजनक उपस्थिति रहेको थियो। करिब २,००० जनाको सहभागिता रहेको मेलाले नेपाली समुदायबीचको एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको छ।
खुला आकाशमुनि खुला चौरमा आयोजना गरिएको मेलामा नेपालबाट आएका चर्चित राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको थियो। चन्द्र शर्मा, विष्णु खत्री, रमेशराज भट्टराई, बबिता बानियाँ ‘जेरी’, जमुना राना र प्रोसेस पाण्डे लगायतका कलाकारले आफ्ना लोकप्रिय गीत तथा सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। त्यसैगरी स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति, मौलिक तीज गीत तथा नृत्यले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

मेलामा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न मनोरञ्जनात्मक तथा खेलकुद गतिविधि पनि सञ्चालन गरिएको थियो। भलिबल, फुटबल, घैँटो फुटाउनेलगायतका प्रतियोगिता ले सहभागी तथा दर्शकको ध्यान खिचेको थियो। बालबालिकाका लागि राखिएको बाउन्सी क्यासल पनि विशेष आकर्षण बनेको थियो।
कार्यक्रममा मोडल सरिष्मा मगरको आकर्षक नृत्यले दर्शकको मन जितेको थियो। त्यस्तै, गायिका तथा प्रस्तोता शोभा त्रिपाठीले कार्यक्रमको उद्घोषणसँगै आफ्नो सांगीतिक प्रस्तुति पनि दिएकी थिइन्।
मेलालाई व्यापारिक तथा सामाजिक रूपमा समेत विविधतापूर्ण बनाउन खाना, कपडा, गरगहना, बीमा लगायतका ३० भन्दा बढी स्टल राखिएका थिए। विभिन्न सामग्री तथा सेवाका स्टलले मेलामा थप आकर्षण बढाउनुका साथै व्यवसायी तथा समुदायबीचको सम्पर्क विस्तारमा समेत सहयोग पुर्याएका थिए।
आयोजक शान्ति नेपाली समाज बेलायतले पहिलोपटक आयोजना गरिएको बर्मिङ्घम तीज मेलालाई अपेक्षाभन्दा उत्साहजनक सहभागिता र सहयोग प्राप्त भएको र यसलाई ऐतिहासिक र सफल कार्यक्रमका रूपमा लिएको छ। समाज, संस्कृति र नयाँ पुस्तालाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित अघि बढाइएको यस अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति S.N.S.B. हार्दिक आभार व्यक्त गर्दछौ ।
मेलालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, दाता, सहकार्य गर्ने संघसंस्था, कलाकार, स्थानीय कलाकार, स्वयंसेवक, व्यवसायी, सञ्चारकर्मी तथा उपस्थित सम्पूर्ण दर्शक–सहभागीप्रति शान्ति नेपाली समाज बेलायतले विशेष धन्यवाद व्यक्त गर्दछौ ।
बर्मिङ्घम तीज मेला केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई बेलायतमा नेपाली भाषा, संस्कृति, परम्परा र पुस्तान्तरणलाई जोड्ने साझा अभियानका रूपमा अघि बढेको छ। पहिलो संस्करणबाट प्राप्त उत्साह र सहभागिताले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक रूपमा निरन्तरता दिने आधार तयार गरेको विश्वास गरेकाछौ ।
शान्ति नेपाली समाज बेलायत
News
- मौलिक प्रस्तुति र उत्साहजनक सहभागिताबीच सम्पन्न भयो बर्मिङहम तीज मेला
- बेलायतमै-पहिलोपटक-बर्मिङहम-तीज-मेला





